काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो ।
परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आकाले परिवारमा रमाइलो थियो ।
घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा सडकबाट तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जना अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ ।
सोनिसा जीपको अघिल्लो सिटमा थिइन् । कच्ची सडक भए पनि जीपको गति तीव्र थियो । ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो, मोटरसाइकल तीव्र गतिमा थियो, घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो,’ सोनिसाले दुर्घटनाबारे भनिन् ।
घुम्तीमा दायाँ मोडिनु पर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ ।
‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ, हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनु भएको हो,’ उनले भनिन् । जीप दुर्घटनामा पोखरा २३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।