काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताए ।
बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वशैली बदल्नुपर्ने बताएका थिए ।
“अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ,” महामन्त्री थापाले भने ।
सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिए ।
सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उनले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिए ।