काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका थोरै स्थानमा तथा देशका बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका धेरै स्थानमा लामो समयदेखि वर्षा नभएको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना छ ।
यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।