काठमाडौं । सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।
पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगर ४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो ।
कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नु पर्ने मृतक न्यायधीशका दाइ सुभाष राईले माग गरे ।
कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए ।
स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए ।