काठमाडौँ । राजा ल्याउने नाममा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भागेर सुरक्षा निकायलाई छल्दै भारतको राजधानी नयाँदिल्ली पुगेको निष्कर्ष सुरक्षा निकायले निकालेको छ ।
गणतन्त्र र नेताविरुद्ध चर्को भाषण दिएर चर्चामा आएका प्रसाईंले चैत १५ गते तीनकुनेमा भएको राजा फर्काउ आन्दोलनका क्रममा भीडलाई उत्तेजित बनाउँदा पत्रकारसहित विरोध ¥यालीमा सहभागी एक युवकको ज्यान गएको थियो । त्यसपछि प्रसाईं भूमिगत भएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन ।
अस्थिर स्वभावका प्रसाईं पछिल्लो समय मुलुकमा राजा ल्याउने आन्दोलनको जनकमान्डर भएको घोषणा गर्दै पूर्वराजा ज्ञानेन्द्रसँग पटकपटक भेटेर आफूले मुलुकमा राजसंस्था पुनःस्थापना गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।
प्रसाईंको अराजक गतिविधिबारेमा सुरक्षा निकाय जानकार भए पनि समयमा पक्राउ गर्न नसक्नु सुरक्षा निकायको गम्भीर लापरबाही भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले बताए । प्रसाईंले तीनकुने, बानेश्वर क्षेत्रमा वितण्डा मच्चाएपछि लामो समयसम्म वानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आफ्ना कार्यकर्ताहरुलाई राखेर गोप्य बैठक गरेर बस्दासमेत सुरक्षा निकायले थाहा नपाउनु लज्जाको विषय भएको पूर्व उच्च सुरक्षाकर्मीहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
पूर्वडीआईजी मल्लले भने, ‘प्रसाईं एक्लै भागेर दिल्ली पुगेको त होइन होला तर पनि त्यसको बारेमा सुरक्षा निकायले सूचना संकलन गर्न नसक्नु दुःखद पक्ष हो । त्यस्ता अराजक मान्छेलाई पक्राउ गर्न किन आनाकानी गरेको होला सुरक्षा निकायले रु समयमा नै उसलाई नियन्त्रणमा लिएको भए यत्रो जनधनको क्षति हुने थिएन ।’
प्रसाईंको बारेमा अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो अवस्थाको बारेमा खोजी गरिरहेको बाहेक अन्य कुरा बताउन चाहेको छैन । भागेर दिल्ली पुगेको निष्कर्षमा पुगेको सुरक्षा निकायले प्रसाईंलाई नेपालमा राजद्रोहको मुद्दा चलाउने तर नेपाल आउन नदिने रणनीति अपनाएको हो कि भन्ने आशंका सुरक्षा विज्ञहरुले गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले प्रसाईंको खोजीका लागि एउटा टोली परिचालन भएको जानकारी दिए । पूर्वडीआईजी मल्लले भने लामो समयदेखि अराजक भनाइ सार्वजनिक गर्दै आएका प्रसाईंलाई सरकारले पहिला नै नियन्त्रणमा नलिनुले शंका गर्ने ठाउँ पैदा भएको बताए । उनले भने– ‘अराजक भनाइ सार्वजनिक गर्दै समाजलाई नै उत्तेजित बनाउने काम गर्दा सरकारले सुरक्षा निकायलाई पक्राउ गर्नुपर्ने आदेश दिनुपर्ने हो । किन त्यसो भएन, यसतर्फ पनि अब गम्भीर समीक्षा हुन जरुरी छ ।’
अहिले दिल्ली पुगेका प्रसाईंले भेटघाटलाई तीव्र बनाएको सूचना आएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिँए । उनले भने–‘अब कसरी फेस सेभिङ गर्ने भन्ने विषयमा प्रसाईंले छलफल तीव्र बनाएको सूचना आएको छ । यसबारेमा हामीले सरकारलाई जानकारी गराएका छौं ।’
प्रसाईंका कारण राजा फर्काउने भनिएको आन्दोलन कमजोर भएकाले पूर्व राजावादीहरु रणनीति बनाउन अहिले व्यस्त देखिन्छन् । गणतन्त्रवादीहरुको चेपुवामा परेको राजावादी आन्दोलन कमजोर हुनुमा प्रसाईं जिम्मेवार रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब कसैको वैशाखी नटेकी आन्दोलन अघि बढाउन उच्चस्तरीय संयन्त्र बनाउने आफ्नो अडान दोहोर्याएका छन् ।