पाथीभरा क्षेत्रमा हिमपातसँगै वर्षा

0 Shares

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए ।

‘जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्,’ उनले भने ।

यसैबीच, आज मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी संख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

पाथीभरामा विशेष गरी वडा दसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको संख्यामा वृद्धि भइरहेको हो ।

सम्बन्धित समाचार