पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

0 Shares

काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २९ करोडको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ ।

अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो । पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ ।

गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ । पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

सम्बन्धित समाचार