कुलमानलाई सर्वोच्चको साथ, सरकारले गठन गरेको कार्यदललाई काम गर्न रोक

0 Shares

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको कार्यदललाई तत्काल काम गर्न नपाउने गरी आदेश जारी गरेको छ । अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदलले तत्कालका लागि काम गर्न नपाउने भएको हो ।

यस कार्यदललाई विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अवैधानिक भन्दै टीओडी मिटरको डाटा दिन अस्वीकार गर्दै आएका थिए । यस विषयमा सरकारले उनलाई स्पष्टीकरण सोध्दै आएको थियो ।

यसैबीच, आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त कार्यदललाई काम गर्न तत्कालका लागि रोक लगाउने आदेश दिएको हो ।

गत मंसिर १३ गते अधिवक्ता खडानन्द कँडेलसहितले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, मन्त्री स्तरीय निर्णयबाट मंसिर २ गते गठित टीओडी मिटर छानबिन कार्यदलका संयोजक प्रा.डा. मिश्र, सदस्य चार्टर्ड एकान्टेन्ट सुजन कुमार काफ्ले र श्रीरामराज पाण्डेविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि इजलासले आज अन्तरिम आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार