काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एक जना विदेशी पर्यटकमाथि दुर्व्यवहार गरेको देख्न सकिन्छ । भिडियो पोखराको र दुर्व्यवहार खेपेका पर्यटक अमेरिकन नागरिक रहेको खुलेको छ ।
नेपाल घुम्न आएका उक्त पर्यटक पोखरामा साइकल लिएर डुल्दै गर्दा एक वनभोज कार्यक्रम गरिरहेको स्थानमा पुग्छन् । जहाँ एक समूहले पिकनिक खाइरहेको हुन्छ ।
उनले त्यहाँ उनीहरूसँगै पिकनिक खाने इच्छा राख्छन् । उनले सोध्छन्, ‘के म पनि तपाईहरूसँग रहन सक्छु ?’
पिकनिकमा रहेको केही व्यक्तिले हुन्छ भन्छनन् । उक्त पर्यटकलाई मासु भातसहितको खाना दिन्छन् । उनले खाना सकिएर थप्दै गर्दा एक जना नेपाली आउँछन् । भन्छन्, ‘यो सँग पनि मसँग लिएको जति पैसा लिने भए लिग, नत्र म भोलि आएर धर्ना बसेर भएनी लिने हो । मसँग जति पैसा लिएको हो, त्यति योसँग पनि लिगा हो ।’
त्यतिकै उनी थप्छन्, ‘यो खानाको पैसा तिर्नुहोस् । नत्र भने सबै भाँडा माझ्नुहोस् । नत्र साइकल खोसिदिने छौँ ।’
त्यसपछि पर्यटक भन्छन्, ‘म पैसा तिर्छु चिन्ता नगनुहोस् ।’
उनले गोजीबाट पैसा निकाल्दै कति चाइन्छ लिनुहोस् भन्दै उक्त व्यक्तिलाई दिन खोज्छन् ।
पिकनिक गएका अन्य व्यक्तिले तिर्नु पर्दैन भन्दै उक्त व्यक्तिलाई सम्झाउन खोज्छन् । तर, उक्त नेपाली भड्किरहेका हुन्छन् । पछि उक्त नेपाली नजिक आउँछन् । भन्छन्, ‘मलाई त्यो एक सय रुपैयाँ चाहिँदैन यार ।’
पछि पर्यटकले एक हजार निकाल्छन् र दिन खोज्छन् । त्यतिकैमा ती व्यक्ति आफ्नो औँलाको सुनको औँठी देखाउँदै यसको मूल्य १ लाख ५० हजार रुपैयाँ पर्यो भन्छन् ।
अन्तिममा सबैले सम्झाएर उक्त नेपालीलाई पछाडि लैजान्छन् । पैसा पर्यटकलाई उनकै गोजीभित्र राख्न आग्रह गर्छन् । पर्यटकले जति पैसा चाहिए पनि दिन्छु, भन्छन् र त्यहाँबाट हिन्छन् । विदेशी पर्यटकप्रति गरिएको यो व्यवहार निकै नराम्रो रहेको छ ।