जसलाई महिला दिवसले छुन सकेन, भारी बोकेर बिताए दिन

0 Shares

काठमाडौं । ‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

व्यास नगरपालिका १ भादगाउँ निवासी सुस्मा गुरुङ दमौली बजारमा इँटा, सिमेन्ट, बालुवा र गिट्टी बोक्न व्यस्त छिन् । “आज महिला दिवस हो र ? हामीलाई थाहा नै थिएन, दिनभर कामबाट फुर्सद हुँदैन, बेलुकी र साँझका लागि छाक जुटाउनमा व्यस्त हुन्छौँ, हामीलाई न दिवस न रमाइलो गर्ने समय छ”, उनले भनिन्, “हामी बालबच्चाको पठनपाठन र लालनपालनका लागि खर्च जुटाउन दिनभरि काममा व्यस्त हुन्छौँ ।”

दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आएकी व्यास १० दुम्सीचौरकी सुस्मिता विकले कामको व्यस्तताले दिवस हो भन्ने पत्तै नभएको बताइन् ।

बिहान ८ बजे खाना खाएर हतारहतार घरबाट निस्केर बिहान ९ बजेदेखि घर निर्माणका लागि उनी इँटा बोक्न व्यस्त हुन्छि ।

महिला र पुरुषबीच अझै पनि ज्यालामा विभेद हुने गरेको उनीहरूको गुनासो छ । पुरुषसरह काम गरे पनि ज्याला तथा पारिश्रमिकमा विभेद रहेको विकले बताए ।

सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ । तर निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश महिलाले यो दिवस कहाँ र कसरी मनाइँदै छ ? भनेर अनभिज्ञ रहेको बताउँछन् ।

श्रमिक महिलाको पहिचान र सम्मानका लागि स्थानीय सरकारले खोजी गरिरहेको सूचना प्रकाशन भएको पाइए पनि यी महिला श्रमिक पर्दा पछाडि रहन बाध्य छन् ।

दैनिक ज्यालादारी गरेर जीकिोपार्जन गर्ने अधिकांश महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब छैन । आज दमौलीमा भेटिएका अधिकांश महिला श्रमिकले दिवस मनाउने र यसका बारेमा चासो नभएको बताउँछन् ।

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलालाई पुग्नुपर्ने सचेतना अझैसम्म पनि पुग्न नसकेको बताइन् । सचेतनाको अभावले दिवसको दिनमा महिला काम गर्न बाध्य रहेका उनको भनाइ छ ।

श्रमिक महिलासँगै ठेकेदारलाई समेत सचेत गराउन सक्नुपर्ने र दिवसका विषयमा जानकारी गराउन आवश्यक देखिएको उपप्रमुख दरैले बताए ।

सम्बन्धित समाचार