स्रोत नखुलेको २९ लाखसहित चार जना पक्राउ

0 Shares

कपिलवस्तु । प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाखसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बाणगंगा नगरपालिका ४ जितपुरको एक फेन्सी पसलको गोदामबाट भारतीय नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगर १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको छ ।

सम्बन्धित समाचार