काठमाडौं । नेपाली कांग्रेस-नेकपा एमालेको गठबन्धन सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा जिरो नम्बर पाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन गरी शून्य अंक दिएका हुन् । मन्त्रालयका सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन गरी घिसिङलाई शून्य नम्बर दिएको हो ।
घिसिङले कार्यसम्पादन करार बमोजिम प्रगति प्रतिवेदन समयमा नबुझाएकाले शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । कार्यसम्पादन करार गर्दा सार्वजनिक संस्थानका प्रमुखको कार्यसम्पादन मूल्यांकन भदौ मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था थियो ।
घिसिङले भने मन्त्रालयमा पेस गरेको कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गरी विवरण दिएका थिए । यस्तै, मन्त्रालयले केही दिनअघि सोधको प्रष्टीकरणमा घिसिङले प्राधिकरणले गरेको प्रगति आफ्नो मूल्यांकन भएको जवाफ पठाएका थिए ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आर्थिक वर्षको ६ महिनामा ११ अर्ब बढी नाफा कमाएको विवरण दिएका थिए ।