काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ अदुवाबारीमा चोर भनेर आफ्नै छोराको हत्या गरेको विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
बिहीबार राति ६४ वर्षीय मिनबहादुर ब्लोन र देविमायाले चोर भनेर आफ्नै छोरा ३९ वर्षीय भरथकुमारलाई मरणासन्न हुने गरी कुटेका थिए ।
आफ्नै परिवारबाट कुटाइ खाएर गम्भीर घाइते भएका भ्लोनकवको शुक्रबार उपचार क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरी तीनै जनालाई अस्पताल लगेको थियो ।
प्रहरीले मीनबहादुर र देवीमायासँग घटनाबारे सोधपुछ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूले चोर भनेर भरथमाथि कुटेका थिए ।
उनीहरूको बयानअनुसार, बिहीबार बेलुका अन्दाजी ८ बजे भरथ अनुहारमा मास्क लगाएर घर पुगेका थिए । घरभित्र छिर्नेबित्तिकै खाना खान लागिरहेका आफ्नै बाबुआमामाथि खुर्सानीको धुलो छ्यापेका थिए ।
उनीहरूले आफ्नै छोरा हो भन्ने थाहा नभएको र चोर भन्ठानेर प्रतिवादमा उत्रिएको बताएका छन् । घरभित्रै बाबुआमा र छोराबीच हानाहान भएको थियो ।
दम्पतीले शंकास्पद ‘चोर’लाई नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरेका थिए । राति अबेरमा फोन आएपछि असई रामप्रसाद यादवको नेतृत्वमा प्रहरीको टोली घटना स्थल पुगेको थियो ।
प्रहरी पुग्दा चोर भनिएका व्यक्ति रक्ताम्य अवस्थामा भेटिएका थिए । टाउकोबाट पनि रगत बगिरहेको थियो । मिनबहादुरको हात, मुख र टाउकोमा चोट देखिएको थियो । देवीमायाको आँखा र हातमा चोट थियो ।
घरबाट प्रहरीले बरामद गरेको झोलामा भरथको पासपोर्ट भेटेपछि मात्रै उनीहरूकै छोरा भन्ने थाहा भएकाे थियो ।
मीनबहादुरको करङ भाँचिएको र देवीमायाको हात र आँखामा चोट लागेकाले थप उपचारका लागि उनीहरूलाई शुक्रबार काठमाडौं ल्याइएको छ ।
प्रहरी अनुसन्धानबाट भरथ दुई वर्षपछि मात्रै घर पुगेका थिए । तर, आफ्नै छोरा नचिनेर भूलवश आक्रमण गरेको भन्ने आमाबाबुको बयान रहस्यमयी रहेकाले प्रहरीले त्यो कोणबाट अनुसन्धान थालेको जनाएको छ ।