काठमाडौं । दुई वर्षअघि घरको छतबाट खसेर दाँया खुट्टा भाँचिएर अपांगता बनेकी सिमकोट गाउँपालिका ७ की माया बिकको खुट्टाको शल्यक्रिया भएको छ।
आर्थिक सहयोगबाट मायालाई हुम्लाबाट उद्धार गरी बनेपा अपांग बाल अस्पताल तथा पुनः स्थापना केन्द्रमा बुधबार खुट्टाको शल्यक्रिया भएको हो ।
दश वर्षीया उनको उपचारमा सहयोग गर्दै आएका डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बालिकाको अपांग भएको खुट्टाको शल्यक्रिया वरिष्ठ चिकित्सक अशोक बास्कोटालगातको टोलीले सफलतापूर्वक गरेको जानकारी दिए ।
खुट्टाको सफल शल्यक्रिया भएपछि बालिकालाई केही दिन चिकित्सककै निगरानीमा राखिने छ । बालिकाको उपचारमा पूर्वसचिव भीम उपाध्यायले आर्थिक सहयोग जुटाउन ठूलो भूमिका खेलेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन सकेको थिएन । स्थानीय प्रविधिबाट उपचार गर्दा बालिकाको खुट्टा बिग्रिएर अपांगता भएको थियो ।
दुई वर्ष अगाडि घरको छतमा साथीहरुसँग खेल्दै गर्दा लडेर खुट्टा भाँच्चिएरको थियो । अब पूर्ण रुपमा बिक निको भएपछि निजको पठन पाठनको व्यवस्थासमेत पूर्वसचिव उपाध्ययले नेपालगञ्जमा हुने बताएका छन् ।