प्रेमीको पटक-पटक दुर्व्यवहार सहन नसक्दा प्रकृतिले गरिन् आत्महत्या

0 Shares

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणले चर्को रूप लिएको छ ।

प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रेमी भनिएका आद्विक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय छोड्ने उर्दी जारी गरेसँगै २०० भन्दा बढीको संख्यामा नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका छन् ।

उनीहरू अहिले नेपाल फर्किन बसस्टपमा छन् भने कोलकत्ताबाट रेलमार्फत उनीहरू नेपाल फर्किने तयारीमा छन् ।

पटक-पटक दुर्व्यवहार:

प्रकृतिका साथीहरूका अनुसार उनी प्रेमीलाई असाध्यै माया गर्थिन् । तर, प्रेमी श्रीवास्तले भने उनलाई पटक पटक दुर्व्यवहार गर्ने गरेको पाइएको हो । उनको यातना सहन नसकेर आत्महत्या गर्न बाध्य भएको विद्यार्थीहरूको भनाइ छ ।

आत्महत्या गर्नुअघि प्रेमीसँग गरिएको कुराकानीमा कस्तो खालको गाली दिन्थ्यो भन्ने कुरा सार्वजनिक भएको एक अडियोमा सुन्न सकिन्छ । निकै नै अश्लील गाली गर्दा समेत उनले मायाको भीख मागेको अडियोबाट प्रस्ट हुन्छ ।

‘तिमीले मलाई कति गाली दिन्छौँ । मैले जति माया गर्छु, तिम्रै लागि मात्र गर्छु,’ प्रकृतिले उनलाई भनेकी छिन् । तर, प्रेमीलाई उनलाई अश्लिल गाली गर्दै ‘मेरो मुख नलाग’ भनेका छन् ।

यसअघि समेत श्रीवास्तवले उनलाई दुर्व्यवहार गरेको भन्दै विश्वविद्यालयले रेस्टिकेट गरेको थियो । तर, उनले पटक-पटक दुर्व्यवहार गर्ने गरेको भन्दै कलेजमा उजुरी दिए पनि कलेज प्रशासनले कुनै सुनुवाइ नगरेको विद्यार्थीहरूको भनाइ छ ।

सम्बन्धित समाचार