काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै प्रमाणले पुष्टि गर्न नसकेको बताए ।
‘सहकारी ठगीको विषयमा मेरो नाम छ, तर नामबाहेक केही छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ,’ उनले भने, ‘सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।’
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताए ।
‘सहकारी ठगीसम्बन्धि उजुरीमा गृहमन्त्री ज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,’ उनले भने, ‘उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन ।’
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गरेका थिए ।