लघुकथा : बेवारिसे

0 Shares
  • भूमिका गैरे तिमिल्सिना

“गन्हाएर बाटोमा हिँड्नै नसकिने भयो । के मरेछ , कुन्नि ?” बिहानीको घुमाइमा रमिताले कवितासँग भनिन् ।

कविताले नाक छोप्दै थपिन् , “यता उता हेर्यो खै केही देखिदैन त ? कति साह्रो गन्हाएको हो छ्या ? कुकुर हो कि , बिरालो ?”

राम मन्दिर अगाडिको घुम्ती भएको बाटोमा गन्हाएर हिँड्नै नसकिने भएको कुराले गाउँलेलाई चिन्तित बनायो । गाउँका भद्र भलाद्मी जुटे , स्थानिय क्लब पनि जुट्यो । सबैले यताउता खोजी गरे तर केही फेला परेन । अन्तिममा प्रहरी चौकीमा खबर गरियो ।

प्रहरीको टोली आयो । चेक जाँच गरे । निषेधित ठाँउ भनि कसैलाई नि प्रवेश गर्न दिएन । खोज्दै जाँदा अरेली काँडाको झाडीभित्र एउटा बोरा भेट्यो । बोराको मुख बाँधिएको थियो । पुलिसले फोटो खिच्यो र बोरा खोल्यो, मान्छेको शव फेला पर्यो ।

सबै चकित परे । “को मान्छे हो ? कसको छोरा हो ? हेर ! घर परिवारले कति खोजेका होलान् ।अनेकन् तर्कनाहरूबारे खासखुस चलिरहेको थियो ।

पुलिसले “मृतकको कोहीसँग वैरभाव वा भनाभन भएको थियो ?”  भनेर स्थानीय जनतासँग सोधिरहेका थिए । स्थानीय सुरेश भने मनमनै गुन्दै थिए , “आफ्नो जीवनभरि कमाएको पहिचान कतै त्यहीँ बोराभित्रको बेवारिसे शवमा टुङ्गिने त होइन ? “

सम्बन्धित समाचार