ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी, अब केही दिनभित्र पूर्णता दिइने

0 Shares

काठमाडौं। सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग छलफल गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको उनको भनाइ छ । उनले भने, ‘ ‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं। २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको छ । यसबारेमा हामीले सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफल गरेका हौं ।’

उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने बताए । उनले यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए । उनले २४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए । साथै अहिलेको भन्दा अपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए ।

उनले व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदूषण गर्न नपाउने पनि बताए । उनले भने, ‘व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन । यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने हुन्छ । सुरक्षाको हिसावमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । आन्तरिक सुरक्षा प्रणाली व्यवसायीआफैँले गर्नुपर्छ ।’

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

उनले व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताए । उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको बताए । दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त रहेको बताए ।

उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए ।उनले दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए । उनले सरकारले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्नेकुरा स्वागतयोग्य रहेको बताए ।

सम्बन्धित समाचार