काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताएका छन् ।
आज सानोठिमीस्थित एसओएस स्कूलले आयोजना गरेको ‘स्पोर्टस् मिट २०८१’ को उद्घाटन गर्दै उनले शिक्षा नीति परिवर्तन गरेर रोजगारीमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताए ।
मन्त्री गुरुङले भने, “देशको व्यबस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ, अहिले हातमा सीप भएको प्राविधिक, सीपमूलक र जीवनउपयोगी शिक्षाको आवश्यकता छ, एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ ।”
उनले अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पास गरेर प्रतिनिधिसभामा पठाएको बताए ।
समावेशी र गुणस्तरीय शिक्षा आजको आवश्यक रहेको भन्दै उनले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पुहँच पुर्याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याए ।
मन्त्री गुरुङले विश्व एआईको जमानामा प्रवेश गरिसकेको भन्दै नेपाल पनि एआई प्रविधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नुपर्ने बताए । उनले एआईको कृतिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
अहिलेका विद्यार्थीले सूचना प्रबिधि पढेर घरमै बसेर लाखौँ कमाउन सक्ने भएको भन्दै सूचना प्रविधिको भविष्य उज्जवल रहेकाले यसतर्फ विद्याथीको चासो अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईलगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनुपर्नेमा जोड दिए ।