काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुतिरहेको फोटो प्रहरीको कन्ट्रोल रूमको सिसिटिभीमा खिचेर फेसबुकमार्फत् सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।
पहिलो पटक पुस ७ गते पक्राउ परेका भुसाललाई म्याद थप गर्न जिल्ला अदालत लैजाँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। भुसाललाई फेरि विद्युतीय कारोबार (साइबर कानुन) ऐन अनुसार गत बिहीबार दोस्रो पटक पक्राउ गरिएको हो।
उनीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले १ लाख जरिवाना र ५ वर्ष कैद सजाय माग गर्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा शुक्रबार नै बयान र थुनछेक बहस सकिएपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। भुसालका पक्षबाट वकिल विमल लामिछानेले बहस गरेका थिए।