काठमाडौं । कैलाली जिल्लामा एकै दिन लागु औषधसहित १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
“बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ”, उनले भने, “कैलाली लागु औषधको केन्द्र बन्न थालेको छ, सबै अभिभावकले आआफ्ना छोराछोरीको आनीबानीका बारेमा सचेतता आपनाउन निकै जरुरी भइसकेको छ ।”
प्रहरीले लागु औषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिनसक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको जनाएको छ ।
समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागु औषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।
साथै, कैलालीको प्रहरी टोलीले धनगढीको ट्राफिक चोक, फूलबारी बस बिसौनी, टीकापुरको डाँडाबोझी, क्षेत्रबाट भन्सार छली गरी ल्याइएका चार लाख ११ हजार ७५० मूल्य बराबरका व्यापारिक मालसामान पनि बरामद गरेको छ ।