काठमाडौँ । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका २ खबरा गाउँभरि केराखेती छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराको आहरा बन्न थालेको किसान वुद्धवीर परियारले बताउँछन् । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो,” उनले भने, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”
खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ ।
केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउँछिन् । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताइन् ।
बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताइन ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउँछिन् ।