काठमाडौँ । यूवा उद्यमी तथा व्यवसायी देशवन्धु बस्नेतको ३ अर्ब लगानीमा राजधानीको सुकेधारामा निर्माण भएको पाँचतारे मर्क्युर होटल जनवरीदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।
सञ्चालक देशवन्धु बस्नेतका अनुसार होटेलमा १०४ कोठासहित १० औं तलामा भने फिटनेस क्लव निर्माण भएको छ भने ११ औं तलामा स्वीमिङ पुल छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको होटलमा साउनाका साथै एक्जुकेटिभ स्वीट, जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड सहितका कोठाहरु व्यवस्थापन गरिएको छ ।
मर्क्युर पाँचतारे होटेलको व्यवस्थापनको जिम्मेवारी विश्व प्रसिद्ध फ्रान्सेली चेन होटल एकोर ग्रुपलाई दिइएको छ । फ्रान्सेली चेन होटलले नेपालमा पहिलो पटक यस होटेल मार्फत भित्रिएको हो । एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन सम्हालिरहेको ‘मर्क्युर’ ब्राण्ड पहिलोपटक नेपाल भित्रिएको हो ।
खानका पारखीहरुका लागि होटलमा नेपाली, इण्डियन र चाइनिज रेस्टुरेन्टको समेत व्यवस्थापन गरिएको छ । होटलमा दिनभर सेवा दिने रेस्टुरेन्ट, स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादहरूको संयोजनसहितको भोजन, भारतीय परिकारहरू उपलब्ध हुने विशेष रेस्टुरेन्ट समेत उपलब्ध छन् । प्रत्यक्ष भान्सासहितको बाहिरी इटालियन रेस्टुरेन्टसमेत होटलमा छ ।
होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारसमेत बनेको छ । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका बस्नेतले सो होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको जानकारी दिएका छन् ।
२०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको होटल उद्घाटन नहुँदै होटलको आडैमा रहेको खाली जग्गालाई सजाएर मनमोहन पार्क समेत निर्माण गिरएको छ । उनैले चक्रपथ ९सुकेधारा प्रहरी चौकीको माथिपट्टि० बाट पक्की वाल उठाएर १४० मिटर बढी सडक समेत बनाएका छन् ।