एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, जापानमा एउटा परीक्षा केन्द्र तोकियो

0 Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुने छन् । यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए ।

पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए ।

“प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ,” उनले भने ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए ।

उनका अनुसार आवश्यक बजेट सात वटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्ने छ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् ।

बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनु पर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनु पर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनु पर्ने भन्दै एक सय पूर्णांक रहेको विषयमा ३५ अंक र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनु पर्ने उनले बताए ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

सम्बन्धित समाचार