भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर दियो । तर, सवारी चालक अनुमति पत्र थिएन ।
कार्यालय जान आउन सजिलो हुने भएपछि स्कुटरको लाइसेन्स परीक्षा दिन गत मंसिर २८ गते बिदा लिए । भक्तपुर छोराहरू बसेको कोठा आइपुगे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका स्थायी बासिन्दा आचार्य लाइसेन्स लिने धोको पूरा गर्न नपाउँदै अस्ताए ।
सूर्यविनायक नगरपालिका २ बालकोटमा भाडाको घरमा कोठाभित्र मृत अवस्थामा फेला परे । बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीणको हत्या भयो । प्रहरीले उनकै जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई पक्राउ गरेको छ ।
परिवारका कोही बाहिर नदेखिएको र मोबाइल सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ छोरा छुट्टाछुट्टै कोठामा शव भेटियो ।
कुलप्रसादको हत्यापछि सिरक ओढाएको थियो । भान्छा कोठामा सुतेका प्रवीणको बिभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार चिन्नै नसकिने अवस्था भएको थियो ।
बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द र आमा ७६ वर्षीय तुलसा शोकाकुल भएका छन् । घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिनासँगै सिङ्गो परिवार शोकमा डुबेको छ ।
८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बसेका छन् । कान्छो छोराको घरमा बस्दै आएका उनी र तुलसासँगै थिए, कुलप्रसाद ।
साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामा छाडेर छोराको कोठामा पुगेका थिए । बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।
मृतक कुलप्रसादकी पत्नीको आँसु रोकिएको छैन । ‘मेरो जेठोले अति माया गर्ने बुबा र भाइका हत्या गर्यो भनेर मैले कसरी पत्याउनु, छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु,’ भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था छैन ।
सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने थियो । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेका थिए ।
घटना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गराएर आएका थिए । शनिबार साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर, त्यही दिन राति किन त्यस्ता घट्ना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।
पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले बताए ।