इलाम । लामो समयपछि वर्षा भएसँगै किसान खुसी भएका छन् । गए रातिदेखि पानी परेपछि इलाममा विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका हुन् ।
किसान मात्रिका खतिवडाले पानी परेपछि मकै छर्न सहज भएको बताए । ‘चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ, अन्य बालीको उब्जनी अब बढ्ने छ,’ उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।’
इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि पानी परिरहेको उनको भनाइ छ । ‘पानी नपर्दा अलैँची सुक्न थालेको थियो, मकै छर्न सिँचाइ गर्नु पर्ने अवस्था थियो, तर पानी परेपछि सबै किसानलाई सहज भएको छ,’ उनले भने ।
बालीलाई फाइदा
बालीविद् डा. डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ । पहाडी तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।
‘लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो, जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउन सक्ने खतरा थियो, तर हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ,’ उनले भने ।
आजदेखि परेको पानी काठमाडौं उपत्यकासहित कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ ।
‘नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ,’ उनले भने, ‘हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।’