काठमाडौं । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किन सफल भएका छन् ।
रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । “पछिल्लो तीन महिनादेखि तलब पाइएनँ, खाना नपाएर साह्रै गाह्रो भयो, रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,” उनले भने, “त्यसपछि भागेर आएको हिँडे ।”
उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए ।
परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा भर्ना हुन पुगेका थिए । घर फर्किंदा रित्तो हात हुनु परेको छ ।
“घरमा ३० लाख ऋण थियो, बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन, स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो,” उनले भने, “परिवारको बाध्यताले युद्धको भुँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”
सुरुवातमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए ।
उनका अनुसार घर धितो राखेर सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । आफूसँगै रुस गएका १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।
“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन, सँगैका सबै साथी मरे, डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ,” उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।”
मासिक अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीको प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।
युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगे । मस्कोमा एक दलाललाई दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनको भनाइ छ ।
“तीन जना भागेर मस्को पुगेका थियौँ, सँगै दिल्लीको टिकट काटिएको थियो,” सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिएँ, पछि बुझ्दा एक जनालाई अध्यागमले समातेको रहेछ ।”
रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी सुनाउँछन् ।