काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ। चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि डिप्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ ।
रोग प्रतिरोधात्मक क्षमता पनि चिसो मौसममै कम हुने चिकित्सक बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा विभिन्न रोग लाग्ने तथा भएका रोग पनि बढेर जाने खतरा हुन्छ। चिसोमा सकेसम्म दीर्घरोगीहरु बिहानै व्यायाम गर्न बाहिर निस्कनु हुँदैन। घर भित्रै बसेर व्यायाम गर्नुपर्छ। तातो झोलिलो पदार्थ चिसोमा शरीरका लागि फाइदाजनक हुन्छ।
– मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।
– कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।
सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ ।
– जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ । खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ ।
– जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।
पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।
– जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।
– अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।
– जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायस् मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।