काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ सत्ता गठबन्धन बनाएको बताएका छन् । यस्तै, वामपन्थी शक्तिबीच सहकार्य गर्नसमेत नयाँ समीकरण आवश्यक रहेको उनको भनाइ थियो ।
आइतबार बिहान पोखरामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्राण्डले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो, भोलि पनि यस्तै हुने देखियो, एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।’
नयाँ गठबन्धन बनेसँगै संविधानको रक्षा र सुदृढीकरणका साथै वामपन्थी आन्दोलनको रक्षा मुख्य विषय भएको उनले दाबी थियो ।
‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ, त्यसले व्यवस्थामाथि संकट ल्याउँथ्यो, त्यो चुनौती पार गरिएको छ, देशको राजनीति सही बाटोमा आएको छ,’ उनले थपे ।
यसै क्रममा उनले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना रहेको बताए ।