रोक्का रहेको १५ सय रोपनी जग्गाको मुआब्जा माग

0 Shares

काठमाडौं । कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनु पर्ने माग आफूहरूको रहेको बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए ।

विं.सं. २०६६ देखि स्थानीयबासीको १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ छ । “अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै तीन सय परिवार मुआब्जा पाउनबाट वञ्चित छौँ,” उनले भने, “पटकपटक आवाज उठाउँदा पनि परियोजना कार्यालय र स्थानीय प्रशासनबाट कुनै सुनुवाइ हुन सकेको छैन ।”

रोक्का रहेको सबै जग्गा परियोजनाले लिने भएमा चलनचल्तीको मूल्यअनुसार मुआब्जा दिनु पर्ने स्थानीयबासीको माग छ । वर्षौंसम्म जग्गा रोक्का रहँदा अंशबण्डा, बेचबिखनसमेत गर्न नपाएको रुपाकोट गाउँपालिका ६ का सीता अधिकारीले बताइन् ।

परियोजनाका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण विकले नौ सय ९५ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको जानकारी दिए । “८७ करोड मुआब्जा वितरण भइसकेको छ, रोक्का रहेकोमध्ये ४७७ रोपनी अधिग्रहण गरेर मुआब्जा दिन बाँकी छ”, उनले भने ।

मुआब्जा र फुकुवाको निर्णय एकैपटक गर्न नमिल्ने भएकाले प्रकृयागत ढिलाइ भएको सूचना अधिकारी विकले बताए । आन्दोलनरत स्थानीयबासीको माग पूरा गर्ने हिसाबले छलफल अगाडि बढेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका र रुपाकोट गाउँपालिकाको सीमामा पर्ने रुपातालको संरक्षणसँगै पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सञ्चालित छ ।

सम्बन्धित समाचार