साम्बाका बुबा आमाले मोबाइलबाट हेर्छन् छोरीको खेल

0 Shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन् ।

उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी बनेकी छन् । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले साम्बा अरु नेपाली खेलाडीभन्दा चर्चामा हुन्छिन् ।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि थप चर्चामा पुगिन् । नेपाललाई विजयी गराउँदै फाइनलमा पुर्याएसँगै उनको चर्चा चुलिएको हो ।

लमजुङको तत्कालीन सिम्पानी गाविस ७ हाल मस्र्याङ्दी गाउँपालिका ९ पामचोक गाउँमा हुर्किकी हुन्, उनी । थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रुपमा जन्मिएकी उनको जन्म २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो ।

भण्डारीका बुबा आमा छोरीको प्रगति देखेर दङ्ग छन् । उनकी आमा मुना भन्छिन्, “हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो, तर फुटबल खेलेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।”

साम्बाका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उनलाई सधैँ गाली गर्थे । उनलाई बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने ।

“सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हुँदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो, १४÷१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसी बोका मार हान्दै हिँड्थिन्,” मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाइन् ।

सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जान्थिन् । अरु बेला पनि बल लैजाने गरिन् । गाउँमा साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उनका बुबा थमन बताउँछन् । “प्रायः जसो केटी साथीभन्दा केटा साथीहरु, अझ ठूल्ठुला दाइसँगै बल खेलेर हुर्किएकी हुन्”, उनले भने ।

अहिले उनले देशकै नाम राख्न सफल भएकामा बुबा आमा खुसी छन् । बुबा थमनले भने, “सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन्, छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो ।”

थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए । मनाङमै हुँदा सावित्राको जन्म भएको हो । उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन् ।

पछि पाँच वर्षको उमेर हुँदा आमासँगै लमजुङ फर्किइन् । थमन जागिरका सिलसिलामा मनाङमै बढी जसो बसे । उनले मनाङमा २०४४ सालमा जागिर खाए । ०४६ मा स्थायी भएर ३४ वर्ष सेवा गरेर लमजुङ फर्किए ।

पछि सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका ३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भइन् । महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो ।

काठमाडौँ आएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खाइन् । तर बुबा आमालाई छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो ।

सावित्राको खेल बुबा आमाले मोबाइलबाट हेर्ने गरेका छन् । साँझ सधैँ मोबाइलबाटै खेलको गतिविधि हेर्ने गरेको बुबा थमनले बताउँछन् । सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल अझै बुबाआमाले घरमा सुरक्षित राखेका छन् ।

सावित्राका आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ । सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपसम्मको यात्रा तय गरेकामा गाउँका सबै खुसी छन् ।

सम्बन्धित समाचार