काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने बताएका छन् ।
सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेमाथि सरकारले कानूनी कारबाही सुरु गरेको बताए ।
“हालसम्म ६ सयभन्दा माथिलाई कानूनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी जेलमै छन्”, उनले भने, “सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि अघि बढाइँदै छ ।”
उनले भ्रष्टाचार नियन्त्रण र सुशासन हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने बताउँदै सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।
“भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानूनलाई गुरु मानेको छ, ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ”, उनले भने ।
उनले भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको देखिरहेको बताए ।