श्रीमान विदेशमा, पुरुषको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ

0 Shares

काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका २ घर भई काठमाडौँ कागेश्वरी मनोहरा ९ मा बस्दै आएका ४३ वर्षीया होमबहादुर फौजा मगरको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका ५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका १० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ घर भई सोही स्थानमा बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका २ घर भई हाल गोकर्णेश्वर ६ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “मंगलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर ६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरुले फौजा मगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र निजहरु वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानमा कुटपिटअघि अमृत र भुवन दुवै जना विमलाको कोठामा पुगेको खुलेको छ ।

उनीहरू तीन जना कोठामा रहेको समयमा फौजा मगर पनि आइपुगेको र त्यहाँ विवाद बढेर उनीहरूले लखेटेको प्रहरीले जनाएको छ । अनैतिक सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको अनुसन्धानमा खुलेको छ । विमलाको श्रीमान कामको शिलशिलामा विदेशमा छन् ।

सम्बन्धित समाचार