काठमाडौँ । ‘तपाईंहरु हामीलाई राहत दिन आउनु भएको हो ?’ बाढी पीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगर २५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो ।
‘होइन, हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको,’ यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खाने कुरा दिन कोही आएछ कि भनेर नी ।’
काखमा छ महिनाकी बालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेकी रहेछिन् उनी । तर, हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन्, ‘अरु पनि आउँछन् यसरी नै, सोधेर जान्छन्, तर कोही राहत लिएर आउँदैनन् ।’
सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ । ‘आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्,’ माझी पीडा सुनाइन्, ‘अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन्, रुन्छन्, के गर्नु ?’
बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै आँखाभरि आँसु लिएर उनले थपिन्, ‘बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।’
सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत आयो की भन्ने आशा लाग्दो रहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछिन उनी ।
‘अहिले त न बस्ने बास छ, न खानका लागि गाँस छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला, तर मुख्य खाने कुरै भएन,’ उनी भन्छिन्, ‘नखाएर कति दिन बिताउन सकिएला ?’
अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो झैँ लाग्छ, उनलाई । ‘अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नि,’ माझी भन्छिन्, ‘पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला, बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ, तर कसैले पत्याएनन् ।’
कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउँछिन् । ‘भए पनि एक्कासी महँगो बनाएका छन्,’ उनले थपिन् ।
फूलबारी मार्गकै नदी किनारामा बस्दै आएकी छन्, गङ्गा थापा । उनले यस्तो किसिमको विपद् आउला भनेर कल्पनासमेत गरेकी थिइनन् । ‘रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिए छु, पानी त भुइँभरि रहेछ, तीन छोराछोरी र श्रीमानलाई पनि ब्युँझाए, भागाभाग भयो,’ थापा भनिन्, ‘एकै छिनमा त आँखैअगाडि बस्ने बासै बगायो, धन्न भाग्यले बाँचियो ।’
उनीहरूबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौ भइरहेको छ । अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी उनका लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न कठिन भइरहेको गुनासो सुनाउँछिन् । उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेका छन् ।
‘यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइनँ, नसोचेकै भयो,’ थापा भन्छिन्, ‘जे भयो भयो, अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत वितरणका काम सुरु भइसकेको जानकारी दिए । ‘हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।’
जनस्वास्थ्यविद् डा. समिर अधिकारीले समयमा खाद्यान्न तथा स्वच्छ खानेपानी पीडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने बताउँछन् ।