काठमाडौँ । असोज ११ गते शुक्रबार साँझदेखि देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारी साधन राम्ररी चल्न पाएका थिएनन् ।
अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन नागढुंगाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि खसिसकेका कारण सवारी साधन अघि बढ्न सकेनन् ।
काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारी साधन लामबद्ध थिए । सडक सवारी साधनले भरिभराउ थिए ।
रातिमा सवारी साधन अघि बढ्न सकेनन् । त्यही बेला शनिबार नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारी साधन)मा बजारियो ।
ठाडो भीर भएकाले सीधै पहिरो खस्यो । माथिल्लो सडकको सिमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । घटनामा अहिलेसम्म ३५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय नानु लामाले भनिन्, “पहिरो गाडीमाथि खस्यो, अघिल्तिर रहेका साना सवारी साधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, ठूला सवारी साधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन, पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”
लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए, त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उनले भनिन् ।
नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारी साधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन संघर्ष गर्नु परेको बताए ।
राजधानीको मुखमा सिमलतालको सम्झना
गत असार २८ गते चितवनको भरतपुर महानगर २९ सिमलतालमा पहिरो खस्दा एकसाथ दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भए । बिहान ३ बजे पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा खसेको थियो ।
दुई वटा बस त्रिशूली नदीमा खसेसँगै करिब एक महिनासम्म खोजी कार्य चलेको थियो जसमा २४ जनाको मात्रै शव फेला गरेको थियो भने तीन जना बाँच्न सफल भएका थिए । उक्त घटनामा अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न सकेन ।
घटनापछि छानबिन गर्न बनेको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन पेश गरेको थियो । उनले प्रतिवेदन बुझ्दै सबै पालना गर्ने दाबी गरे । तर, दुई महिनापछि राजधानीको मुखमै यस्तै प्रकृतिको घटना दोहोरियो ।
कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटना स्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इञ्जिनियरिङ्ग र डिजाइनबिना सडक खन्नु मुख्य कारण भएको बताएका थिए ।
‘दुर्घटना स्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर छ,’ उनले भनेका थिए, ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले पर्खाल लगाएको पनि देखिदैन ।’
शनिबार झ्याप्ले खोलामा भएको घटना पनि यस्तै प्रकृतिको हो । नागढुङ्गाको चेकपोष्ट नजिकको बाटो फराकिलो बनाउने नाममा खोल्सामा माटो व्यवस्थापन गरिएको थियो । लगातार परेको वर्षाले माटो बगाउँदा आधा दर्जन सवारी साधनमा क्षति पुग्यो । तीन दर्जन यात्रुले ज्यान गुमाए ।
भ्रष्टाचारी जोगाउने ध्यानमा जनताको बेहाल
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत ४ गते शुक्रबार अमेरिका प्रस्थान गरे । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री बनेका प्रकाशमान सिंहलाई कार्यकारी प्रधानमन्त्री जिम्मेवारी दिए ।
सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएसँगै नयाँ पत्रिकामा एउटा समाचार प्रकाशित भयो, ‘कार्यवाहाक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी ‘। ३३ वर्षसम्म २८ रोपनी सरकारी जग्गाको भौतिक संरचनामा दाइँ गरेकी रितालाई जोगाउने खेलमा थिए, सिंह र गृहमन्त्री लेखक ।
यो समाचारले देशको राजनीतिमाथि प्रश्न गरिरहँदा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा सुरु हुनु दुई दिनअघि अर्थात गत बुधबार ५६ जिल्लामा वर्षाको उच्च जोखिम रहेको जानकारी दिँदै सचेत हुन आग्रह गरिरहेको थियो ।
तर, भ्रष्टाचारीलाई जोगाउने ध्यानमा रहेको सरकारले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा ध्यान दिएन । जसले गर्दा पछिल्लो दुई दिनदेखिको लगातार वर्षासँगै आएको बाढी पहिरोले देशभर करिब दुई सय जनाले ज्यान गुमाए ।
मौसम पूर्वानुमान महाशाखाले असोज ११ गते शुक्रबारदेखि आइतबारसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको थियो । साथै, तराईका भूभागमा डुबान हुने जानकारी दिएको थियो ।
विभागले गराएको सचेतसँगै सञ्चार माध्यमबाट भएको प्रचारमा सरकारले ख्यालठट्टा मान्दा ठूलो जनधनको क्षति भएको हो । अर्थात सरकार भ्रष्टाचारी जोगाउने ध्यानमा हुँदा जनताले अकालमा ज्यान गुमाएका हुन् ।
उता, देशको प्रमुख कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा छन् । देशमा गणतन्त्र आउनु र बयलगाडामा चढेर अमेरिका जानु एकै हो भन्ने ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रतिनिधित्व गर्दै अमेरिका पुगेका हुन् ।
अमेरिका भ्रमणमा ओलीको मूल कार्यक्रम बिहीबार अर्थात गत १० गते सकिएको थियो । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेसँगै उनको मूल कार्यक्रम सकिएको थियो । तर, उनले देशको विपत्तिलाई फेसबुकबाट सम्बोधन गर्दै हार्वर्ड विश्वविद्यालय पुगे ।
“म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु,” उनले भने, “यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबर सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको, हेरिरहेको छु, नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ, सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपात कालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला ।”
प्रधानमन्त्री ओली देशमा बाढी पहिरोबाट दुई सयको मृत्यु भएको बिपत्तिमा स्वदेश फर्किन हतार गरेनन् । यता, फेसबुकमा स्टाटस हालेर बसेको भन्दै आलोचना भइरहेको छ । यसैबीच उनी स्वदेश फिर्ता हुँदै छन् । उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि स्वदेश आइपुग्ने छन् ।