किन भयो मध्यरातमा आमा र छोराको हत्या

0 Shares

काठमाडौँ । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा गत भदौ २० मा आमा छोराको हत्या गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।

वडा कार्यालय नजिकै किराना पसल चलाएकी ३८ वर्षीया आमा निर्मला थापा र छ वर्षीया छोरा आरुसको हत्या गरेको अभियोगमा सोही ठाउँका ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो ।

“अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरु फर्किएको हो”, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने ।

उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । प्रहरीका अनुसार महिलाले मगरलाई विवाह गर्न दबाब दिँदै आएका थिइन् । सोही कारण अभियुक्तले हत्या गर्ने उद्देश्याले घरबाट खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ ।

विवाद भएपछि खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको छ । यस घटनामा प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको उपरीक्षक योगीले बताए ।

सम्बन्धित समाचार