काठमाडौँ । गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछाने र अध्यक्ष जीबी राईको तलब मासिक पाँच लाख रुपैयाँभन्दा बढी देखिएको छ ।
सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा एक करोड चार लाख ३६ हजार रुपैयाँ तलब बुझेको देखिएको छ ।
यस्तै, मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)ले आर्थिक वर्ष २०७८/७९ मा ३० लाख रुपैयाँ तलब लिएको देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ रुपैयाँ लिएका थिए ।
उनले २०७७ माघ १ देखि ०७९ असार असार गतेसम्म गोर्खा मिडियामा आबद्ध भई काम गरेका थिए । यस अवधिमा उनले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिएको हो ।
गोर्खा मिडियाले सञ्चालन हुँदा करिब १५ करोड रुपैयाँ तलबमा मात्रै खर्च भएको देखिएको छ । गोर्खा मिडियाका लागि विभिन्न सहकारीबाट अवैध रुपमा रकम आउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामछानेमाथि कारवाही गर्न संसदीय समतिको प्रतिवेदनमा सिफारिस भएको छ । उनी पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत हुन् ।