काठमाडौँ । काठमाडौं सुन्दरीजलमा शव फेला परेकी महिलाको हत्या भएको खुलेको छ । गत बिहीबार गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलको बोक्सेदहमा ढुंगाले च्यापिएको अवस्थामा महिलाको शव भेटिएको थियो ।
महिलाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरेको छ । सिराहा घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी राम दुलारीको हत्यामा दुई जना पक्राउ परेका हुन् ।
हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका ५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको छ ।
मृतक राम दुलारी र रामविनय दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । रामविनय जुत्ता सिलाउँदै आएका थिए । राम दुलारी मजदुरको काम गर्दै आएकी थिइन् ।
मृतक राम दुलारीले दैनिक मापसे गरी अरु पुरूषसँग सम्बन्ध रहेको आशंकामा रामविनयले सन्तोषको साथ लिएर हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।