काठमाडौँ । नेपाल भाषाको क्वाती शब्दलाई अपभ्रंश गरिएको क्वाँटी शब्द देश विदेशमा बस्ने हरेक नेपालीको मुख मुखमा झुण्डिएको छ ।
झन आज जनै पूर्णिमाको दिनमा त यो हरेक हिन्दू धर्मावलम्बीहरुको लागि नभई नहुने एउटा ‘सहयोगी परिकार’ बनेको छ ।
नेपाल भाषामा क्वा को अर्थ तातो र ति को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले क्वाति वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ गरी नौ थरि गेडागुडी मिसाएर खाने चलन छ ।
खासगरी नेवार समुदायमा क्वाँटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने प्रचलन शुरु गरिएको विश्वास गरिन्छ ।
क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र -तनावबाट मुक्त गराउँछ ।
-कब्जियतको समस्या हटाउँछ ।
-क्वाँटी रेसादार खानाको स्रोत हो ।
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ बनाउन सहयोगी भूमिका खेल्छ ।
-यो सजिलै पचाउन सकिन्छ, समग्र पाचन प्रणालीमै यस्ले सकारात्मक भूमिका खेल्छ । पेटमा अनावश्यक वायु बनाउँदैन ।
-क्वाँटी खानाले ‘एसिडिटी’ तथा मुत्र नलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
-रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सहयोग गर्छ ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।