काठमाडौं । कैलालीको टीकापुर नगरपालिका ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् ।
विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।
विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको हो । विद्यालयले कक्षा लिडर (मनिटर)ले यो रेकर्ड राख्नु पर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न लग बुक दिएको छ । विद्यालयमा गत शैक्षिक शत्रबाट यो अभ्यास थालिएको हो ।
कक्षा ८ का मनिटर नमूना पौडेल कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि प्रधानाध्यापकलाई बुझाउने गरेको बताइन् । ‘शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ,’ उनले भने, ‘हरेक शिक्षक आएको र गएको समय लेख्छौँ ।’
शिक्षक कक्षाकोठामा प्रवेश गरेको र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ६ का मनिटर मनोज चौधरीले बताउनुभयो । ‘हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ,’ उनले भने, ‘शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन्, हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ ।’
हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएको जानकारी दिए ।
विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उनको भनाइ छ ।