काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएसँगै तनाव उत्पन्न भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घटना स्थलमै मृत्यु भएको हो । प्रहरीले लापरबाही गरी प्रमुख राजमार्गमा चेकिङ्ग गर्दा घटना भएको उनीहरूको भनाइ थियो ।
तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताए । मृतकको अझै परिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब-कापी भेटिएका छन् ।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर-कोटेश्वर सडक खण्ड र सानोठिमी-जडीबुटी-पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ । तनाव उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास हानेको छ ।