काठमाडौं । भुटानी शरणार्थीको मुख्य नाइके भनिने बेचन झामाथि लागेका आरोपमाथि आजबाट थुनछेक बहस हुने भएको छ । बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।
झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।
तर, अदालतमा दायर अभियोग पत्रमा समावेश गरिएको झाको बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको दाबी गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई उनले इन्कारी बयान दिएका हुन् ।
यसअघि पनि उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहा नभएको बताउँदै आएका थिए । अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक प्रहरीले बरामद गरेको थियो । झाले दुई करोडको चेकबारे पनि थाहा नभएको बताएका छन् ।