काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले साइबर ब्यूरोलाई पत्राचार गर्दै आफ्नो मानहानी भएको भन्दै कारबाही गर्न माग राखेकी छन् । उनले आफ्नो नाममा सामाजिक सञ्जालको पेज खोलेर अनैतिक काम हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
उनले यसअघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गर्दै आएकी थिइन । तर, अहिलेसम्म बन्द नभई अनैतिक सामाग्री प्रकाशन हुँदै आएको उनको सचिवालयले जनाएको छ ।
यसअघि उनले गत जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरु बन्द गर्न पत्राचार गरेकी थिइन् । हालैमात्र एक सार्वजनिक कार्यक्रममा मेयर बालेन शाह र डंगोलसँगै रहेको भिडिओलाई तोडमोड गरी अनर्गल तरिकाले भाइरल बनाइएको थियो ।
पत्रमा भनिएको छ, ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हाली व्यक्तिको चरित्र हत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु ।’
उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिला दिदी-बहिनीहरुको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।
उनले आफ्नो बद्नाम गर्न खोज्नेलाई कानूनबमोजिम कारबाही गरी सहयोग आफूलाई सहयोग गरिदिन अपिल गरेकी छन् ।