लोभले आफ्नै पसलमा आगो लगाएर डेढ करोडको सामान जलाए, प्रहरीको अनुसन्धानले जेलमा पुगे

0 Shares

काठमाडौं । गत साउन १६ गते बिहान पोखरा महानगर ६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगो सल्कियो । स्याङ्जाको आँधिखोला गाउँपालिका ४ का सुजन गहतराजले चलाउँदै आएको सपिङ सेन्टरमा लागेको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भयो ।

खाद्यान्न र मदिरासहित सबै सामान पाइने पसलमा आगलागी भएपछि सुजनले इन्भटर सर्ट भएर आगो लागेको बताए । उनको बयानमा प्रहरीले शंका गर्यो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्न थाल्यो ।

प्रहरी इन्भटर बिक्री गर्ने पसलका धनी कहाँ पुग्यो । यसपछि प्रहरीले इन्भटर सर्ट भएर आगो नलाग्ने जानकारी पायो । नेपाल विद्युत प्रधिकरणले प्रहरीलाई घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।

अनुसन्धानको क्रममा व्यवसायमा घाटा भएपछि बीमाको रकम दाबी गर्न आफैले आगो लगाएको प्रहरीको आशंका थियो । तर, सुजनले बीमा नगरेको बताए । अनुसन्धान चलिरहेका बेला दुई दिनपछि अर्थात १८ गते उनले हिमालयन इन्सुरेन्समा बीमा दाबी गर्दै निवेदन दिए । उनले दुई करोड १० लाख रुपैयाँको बीमा दाबी गरेको प्रहरीले जनाएको छ ।

बीमा दाबी गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लियो । पसल नचलेको, सामान स्टक रहेको, घर भाडाका विषयमा विवाद रहेको र आर्थिक समस्या बढ्दै गएपछि बीमा दाबी गर्न आगो लगाएको बयान दिए ।

यो काममा सुजनलाई पवन नेपालले साथ दिएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि पवनले आफैले सञ्चालन गरेको ह्याचरी तथा पोल्ट्री फार्ममा आगो लगाएर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा सुजनले आफ्नै सपिङ सेन्टरमा आगो लगाएका हुन् ।

उनीहरू दुवै जना स्याङ्जाका हुन् । काम सकिएपछि सुजनले बीमाबाट प्राप्त हुने रकमबाट १० लाख रुपैयाँ पवनलाई दिने सहमतिसमेत पाइएको प्रहरीले जनाएको छ ।

बीमा रकम पाउने उद्देश्यले आगो लगाएको खुलेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई आपराधिक मुद्दा चलाएर जिल्ला अदालतमा सात दिनको म्याद थप गरिएको छ ।

सम्बन्धित समाचार