काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो ।
गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि र माणिक्य जडित भोटो देखाउने गरिन्छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखेर बुङ्मती पुर्याउनु पर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।
करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजा गाजासहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ ।
विं.सं. ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दु तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।