काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी अगाडी आउँनुपर्ने निर्देशन समेत उनले दिए ।
आजपा निकटको आईटी आर्मीको काठमाडौं उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि आईटी आर्मी फ्रन्टलाईनमा आउनु पर्ने आवश्यक रहेको बताए । दलीय सिण्डीकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन् ।
‘एक त देशमा लोकतन्त्र नै छैन् । लोकतन्त्र देखाउँने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले अब लोकतन्त्रसंगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको संकेत गरेको छ’ साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्वपूर्ण भुमिकाको आवश्यक्ता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाईनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’
लोकतन्त्र बचाउँनका लागि कांग्रेस र एमालेसंग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागि भएका कांग्रेस र एमालेले जनतासंग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरु आफ्नै प्रतिबद्धता विपरित सत्तास्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।
अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुटने काममा लागेको आरोप उनले लगाए ।