काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिकास्थित सिद्धिपुर गाउँबाट एकै वर्षमा दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ ।
विं.सं. २०५० देखि नै सिद्धिपुरबासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिक रुपमा बेसार खेती गर्दै आएको बताए ।
स्थानीय देवबहादुर मगरले भने, “२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो, ०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ ।”
उनका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ ।
केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताइन् ।