काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भुमिगतकालमा कालीचरण नामबाट फुट्कर कविता लेखेको बताएका छन् । साउन १५ गते खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री ओलीले करिब डेड घन्टा स्रष्टा-कलाकारसँग व्यतित गरे ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा ओलीले आफ्ना भूमीगतकालीन एक साथीको कृति लोकार्पण गरे ।
प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारहरुसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरु ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरुमा’ (संस्मरण) को लोकार्पण गरे । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने बताए ।
‘पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडोँभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो’ प्रधानमन्त्री ओलीले भने, ‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनु परेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरु दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।’
ओलीले भने, ‘शाक्यजी साहसिकरुपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईँको स्वास्थ्यको बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरु प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरु भुवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।’
समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरेआदिका रचना र गायनहरु सार्थक रहेको उल्लेख गरे । कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताए ।