त्रिशूलीमा बेपत्ता बस खोज्न आएका भारतीय टोली फिर्ता, यात्रुसहित बसको अवस्था अज्ञात

0 Shares

काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता बस खोज्न आएका भारतीय टोली फर्किएका छन् ।

यात्रुसहित बसको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए । सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले सयुक्त रुपमा घटना स्थल भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालदेखि केराबारी देवघाट–शिवघाटसम्म खोजी गरेका थिए ।

भारतीय टोलीले ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले खोजी गर्ने क्रममा दुई वटा पोइण्टमा भारतीय टोलीले शंका गरेको र अब सो स्थानमा नेपालका सुरक्षाकर्मीले खोजी कार्यलाई निरन्तरता दिने बताए ।

उनले हालसम्म २४ शव फेला परेकोमा १९ वटा मात्रै सनाखत भएको बताउँदै बाँकी पाँच शव शवको सनाखत हुन नसकेको जानकारी दिए । अझै ४३ जना यात्रु हराइरहेको उनको भनाइ थियो ।

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउदा त्रिशूली नदीमा हराएको थियो ।

सम्बन्धित समाचार