त्रिशूलीमा बेपत्ता परिवारले पाएनन् शव, जहाज दुर्घटनामा परेका परिवारले पाए शव पुगेन क्षतिपूर्ति

0 Shares

काठमाडौं । दुई हप्ताको बीचमा नेपालमा दुई ठूला घटना भए । गत असार २८ गते शुक्रबार बिहान करिब ३ बजेतिर चितवनको भरतपुर महानगर २९ स्थित सिमलताल भन्ने स्थानमा दुई वटा यात्रुबहाक बस त्रिशूलीमा खसेर बेपत्ता भए ।

१५ दिनअघि पहिरोसँगै काठमाडौंबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूलीमा बेपत्ता भएका थिए । बेपत्ता भएको दुई हप्तासम्म बस र चार दर्जन यात्रुको कुनै पत्तो लाग्न सकेको छैन ।

त्रिशूली नदीमा बससँगै ६५ यात्रु पनि नदीमा खसेका थिए । जसमध्ये तीन जना भाग्यले बाँचेका थिए । उनीहरूले नयाँ जीवन पाउँदा बाँकी बेपत्ता भए ।

दैनिक पाँच सयभन्दा बढी सुरक्षाकर्मीसहित भारतबाट झिकाएको विज्ञ टोलीको अनुसन्धानले पनि कुनै जानकारी पाउन सकेको छैन । तर, पानीको भेलले बगाएको अन्यत्र पुर्याएको अवस्थामा २५ जना यात्रुको शव भेटिएको छ ।

बाँकी यात्रु र बसको खोजी भइरहेको छ, तर कुनै जानकारी पाउन सकेको छैन । घटनाको अनुसन्धान गर्न सरकारले छानबिन समिति बनाएको छ । यसबाहेक पीडित परिवारलाई सरकारको तर्फबाट प्रभावकारी राहत हुन सकेको देखिँदैन ।

यसैबीच साउन ९ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । जहाजको मर्मत गर्न पोखरा जाने क्रममा विमान दुर्घटना भएको हो ।

विमान दुर्घटनामा पाइलट मनीषरत्न शाक्य घाइते भए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरू अस्पताल पुगेका थिए ।

यो घटनामा विमानका को पाइलटसहित १८ जनाले ज्यान गुमाए । जसमा १५ जना विमान बनाउने प्राविधिक विज्ञहरू थिए । एक बालक र एक महिला एक प्राविधिकको परिवार थिए ।

विमान दुर्घटनामा ज्यान गुमाएका सबै जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई शव बुझाउन सुरु गरिएको छ । घटना भएको तीन दिनपछि पाँच जनाको शव आफन्तले बुझे । अन्य दुई जनाको शव शनिबार परिवारले बुझ्ने गरी तयारी अवस्थामा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को पाइलट सुशान्त कटवालका परिवारले शुक्रबार शव बुझेका हुन् ।

बाँकी ११ जनाको मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग राखेका छन् । उनीहरूले आफ्नो माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्न थालेका छन् ।

उनीहरूले आफ्नो माग सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका हुन् । बीमाको रकम कति र कहिलेसम्म पाइन्छ ? कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति दिन्छ ? भन्ने उनीहरूको प्रश्न थियो ।

साथै मृतकको परिवारको शिक्षा र रोजगारी, मानिसिक परामर्श, दाह संस्कार तथा किरियाको खर्च, शव वाहनको व्यवस्था र सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।

यसअघि सरकारले जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको थियो ।

यस्तै, सरकारले जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

 

सम्बन्धित समाचार